सिपविकास तालिम पश्चात अचार बनाउन शुरु।
माई/ इलाम
माई नगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत “मस्यौरा, अदुवा क्यान्डी र अचार बनाउने सीप विकास तालिम, ब्युटीसियन तालिम तथा अन्य विविध सीप विकास तालिम” पश्चात् सहभागीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक विशेष समारोहका बीच प्रविधि हस्तान्तरण (उपकरण वितरण) कार्यक्रम सम्पन्न गरिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम माई नगरपालिका इलामको आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । सामाग्रीलाई माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले वितरण गर्नु भएको माई नगरपालिका उधम विकास अधिकृत निक्की मेचेले जानकारी दिनुभयो।
माई नगरपालिका परिसरमा अचार बनाएर बिक्री वितरण समेत उद्यमीले गर्न थालेका छन्। तामाको अचार, लसुनको अचार, मासुको अचार, अदुवाको अचार, मेथिको अचार, आँपको अचार, खोर्सानीको अचार, अदुवाको क्यान्डी मस्यौरा आदि बनाएर बिक्री वितरण समेत शुरु गरिएको बताईएको छ।
