माईमा ३०८ किसानलाई कृषि सामग्री वितरण ।
विमल दहाल, इलाम
माई नगरपालिका इलामले ३०८ किसानलाई कृषि सामग्री एक कार्यक्रमका बीच वितरण गरिएको छ। कृषि यन्त्रीकरण कार्यक्रम अन्तर्गत मकै छोडाउने मेसिन, मकै रोप्ने मेसिन, चार्जर स्पेयर ट्याङ्की र प्लास्टिक टनेल वितरण गरिएको हो ।
वितरण कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बुले धेरै किसानले कृषि सामग्री प्राप्तिका लागि निवेदन दिनु भएको प्रसङ्ग उल्लेख गर्नुहुदै कृषि पेशामा सबैको आकर्षण रहेकोमा खुशी ब्यक्त गर्नुभयो। वहाँले सामग्री प्राप्तिका कुरा सानो होला तर कृषि कर्ममा सफल बन्न शुभकामना दिनुभयो। मेयर लिम्बुले गत असोजमा आएको बर्षाले क्षति गरेका किसानलाई नगरपालिकाकै श्रोतबाट १ करोड ३० लाख वढी राहात वितरण गरेको स्मरण गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारीले यो राहात कार्यक्रममा सबै किसानलाई समेट्न नसकिएको तर जसले प्राप्त गर्नु भएको छ, मौसमी र बेमौसमी उत्पादनमा सदुपयोग गर्न सुझाब दिनु भएको छ।
कृषि सामग्री वितरण कार्यक्रममा माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले माई नगरपालिकाको आयआर्जनको मुख्य पेशानै कृषि रहेको जानकारी दिनुहुदै, औचित्य र आवश्यकताका आधारमा कृषि सामग्री सदुपयोग गर्न अनुरोध गर्नु भएको थियो।
वडागत निवेदन माग गरि संकलित कृषि सामग्री वितरण कार्यक्रम अन्तर्गत मकै छोडाउने मेसिन २ जना लाई, मकै रोप्ने मेसिन ४५ जना लाई, चार्जर स्पेयर ट्याङ्की १८५ जनालाई र प्लास्टिक टनेल ७६ जना कृषकलाई वितरण गरिएको माई नगरपालिका कृषि शाखा प्रमुख रुजन खड्काले जानकारी दिनुभयो ।
नगर प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षमा सम्पन्न सामाग्री वितरण कार्यक्रमलाई कृषि शाखा प्रमुख रुजन खड्काले सञ्चालन गर्नु भएको थियो।
