दानाबारी सिकाई केन्द्रले शुरु गर्यो ३ महिने एड्भान्स कम्प्युटर तालिम ।
इलाम, असार २४ – “सामुदायिक सिकाई केन्द्र, समृद्ध समाजको आधार” भन्ने मूल नाराका साथ दानाबारी सामुदायिक सिकाई केन्द्र, माई नगरपालिका–४, इलामको आयोजनामा ३ महिने एड्भान्स कम्प्युटर तालिम बुधबार शुरु भएको छ ।
गन्तव्य कम्प्युटर तालिम केन्द्र, माई नगरपालिका–२, सितली, इलाममा शुरु भएको उद्घाटन कार्यक्रममा ११ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता दानाबारी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विमल दहालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा माई नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण भुर्तेलको उपस्थिति रहेको थियो। प्रमुख अतिथि भुर्तेलले मन्तव्य राख्दै सूचना प्रविधिको वर्तमान युगमा कम्प्युटर सीप अपरिहार्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले माई नगरपालिकाले शिक्षा, सीप विकास तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउँदै तालिममा सहभागी सबैलाई नियमित रूपमा सिकाइमा सक्रिय रहन आग्रह गर्नुभयो।
त्यसैगरी गन्तव्य कम्प्युटर तालिम केन्द्र, माई–२, सितलीका प्रतिनिधि दिनेश गिरीले तालिम अवधिभर गुणस्तरीय तथा व्यवहारिक शिक्षामार्फत सहभागीहरूलाई दक्ष जनशक्ति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामुदायिक सिकाई केन्द्रका कोषाध्यक्ष दुर्गाराज शंकरले सञ्चालन गर्नु भएको कार्यक्रमलाई सदस्य यदुनाथ दुलालले स्वागत मन्तव्य व्यक्त गर्दै सूचना प्रविधिसम्बन्धी सीपले युवाहरूको रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
सिकाई केन्द्रका अध्यक्ष विमल दहालले सामुदायिक सिकाई केन्द्रले समुदायका युवा तथा नागरिकको सीप विकास, जीवनोपयोगी शिक्षा, साक्षोत्तर शिक्षा र स्वरोजगार प्रवर्द्धनका लागि आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो। माई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सहयोगमा सञ्चालन भएको उक्त ३ महिने एड्भान्स कम्प्युटर तालिमबाट सहभागीहरूले आधारभूतदेखि उन्नत कम्प्युटर सीप हासिल गरी अध्ययन, रोजगारी तथा स्वरोजगारका क्षेत्रमा लाभ लिन सक्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
