रेबिज, जुनोटिक रोग तथा AMR सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड

इलाम, माई नगरपालिका।
रेबिज, सर्पदंश तथा अन्य जुनोटिक रोगहरूको जोखिम न्यूनीकरण र एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। जनावरबाट मानिसमा सर्ने रेबिज, बर्ड फ्लु, ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस लगायतका जुनोटिक रोग तथा औषधिप्रति सूक्ष्मजीवहरूको प्रतिरोधी क्षमता बढ्दै जानु सार्वजनिक स्वास्थ्यका लागि चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको हो।
कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिनेछ भने विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय सञ्चार माध्यममार्फत जनचेतनामूलक सन्देश प्रसारण गरी आम नागरिकलाई रोगको रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी प्रदान गरिने जनाइएको छ।
यसै क्रममा प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइने विश्व रेबिज दिवसलाई विशेष कार्यक्रमका साथ मनाइनेछ। सम्बन्धित निकायहरूले जनस्वास्थ्य सुरक्षाका लागि रोगको समयमै पहिचान, रोकथाम तथा जिम्मेवार औषधि प्रयोगमा जोड दिएका छन्।

सबन्धित समाचारहरु