माई अस्पतालमा एचआईभी तथा यौनजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
विमल दहाल/ माई इलाम
स्वास्थ्य कार्यालय इलामको आयोजनामा माई नगरपालिकास्थित माई अस्पतालमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने तथा स्क्रब टाइफस, डेङ्गी, जापानिज इन्सेफलाइटिस र सर्पदंश रोकथाम तथा नियन्त्रणका लागि बहु–क्षेत्रीय सरोकारवालाहरूसँग अभिमुखीकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिप्रति हुने सामाजिक विभेद अन्त्य गर्दै सम्मानजनक व्यवहार प्रवर्द्धन गर्नुपर्ने विषयमा जनस्वास्थ्य अधिकृत साजना राई, स्क्रब टाइफसको लक्षण, उपचार र रोकथामका विषयमा डाक्टर आशिष गुराँगाईं, डेङ्गी, जापानिज इन्सेफलाइटिसका विषयमा स्वास्थ्य इलामका ल्याव टेक्निशियन (निरिक्षक) गोपाल वरालले र सर्पदंश जस्ता जनस्वास्थ्य समस्याको रोकथाम तथा नियन्त्रणका विषयमा माई नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पोख्रेलले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेलले जानकारी दिनुभयो।
सहभागीहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान तथा उपचार सेवामा पहुँच विस्तार गर्न बहु–क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेलको सञ्चालन, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पोख्रेलको अध्यक्षता र जनस्वास्थ्य अधिकृत अनुराधा नेपालको स्वागतमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो।
स्वास्थ्य कार्यालय इलामले यस्ता अभिमुखीकरण तथा पैरवी कार्यक्रममार्फत समुदायमा जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै रोग नियन्त्रण तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको जनाएको छ।
